Province 4 टेक्निकल सेन्टरको वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदन माथी सुनुवाई
गोलनेपाल

कास्की । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्कीको भिंडाबारीमा निमार्ण गर्न लागेको एन्फा टेक्निकल सेन्टरको वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदन माथी सार्वजनिक सुनुवाई गरिएको छ ।

दक्षिण एशियाकै नमुनाको रुपमा रहेको एन्फा टेक्निकल सेन्टर कास्कीको भिडावारीमै बन्नुपर्नेमा कार्यक्रममा सहभागी स्थानीयले जोड दिएका छन् ।

स्थानियहरुले सेन्टर भिंडावारीमा बन्नुपर्ने बताउदै स्थानियको मागलाई पनि पुरा गर्नुपर्ने बताएका थिए । स्थानियले विशेष गरी ५ बुदामा ध्यान दिन आयोजक र स्थानियलाई आग्रह गरेका थिए ।

अन्तराष्ट्रिय स्तरको टेक्निकल सेन्टर बनाउनुपुर्व स्थानीयहरुसँग समन्वय र सहकार्य गरेर प्रस्तावित क्षेत्रको दुबै तिर खोला रहेकाले दुबै खोलामा गुणस्तरीय बाध बनाउनुपर्ने माग राखे । त्यस्तै फोहोर व्यवस्थापनको कुरालाई कार्यान्वयन गर्दै स्थानिय स्रोत साधनको प्रयोग सहित रोजगारको व्यवस्था गर्ने कुरा समेत कार्यक्रममा गरियो ।

"हाम्रो क्षेत्रमा खेलकुदका साथै पर्यटकीय विकास हुनु गौरवको कुरा हो । जग्गादाताहरुलाई समन्वय गर्दै सम्मान पनि गरिदिनुहोला ।" स्थानिय देविप्रसाद अधिकारीले भने । अर्का स्थानीय जयलाल दवाडिले प्रभावकारी कार्यक्रम रहेकाले स्थानियले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको बताउँदै, स्थानियको ज्ञान र सिपको आधारमा रोजगारको समेत ग्यारेन्टि दिनुपर्ने औल्याए ।

सोहि क्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले प्रस्तावित फिफाको आयोजना अन्यत्र लान निकै प्रयास समेत भएको बताए । उनले एशियाकै नमुना मैदान तथा टेक्निकल सेन्टर आफ्नै क्षेत्रमा बन्दा अन्तर्राष्ट्रिय खेलकुदका साथै पर्यटन तथा रोजगारमा समेत टेवा पुग्ने हुदाँ सबैले सहयोग गर्न आग्रह गरे । उनले ईदी र मर्दी खोलामा स्थानिय तहले प्रदेश र केन्द्र सरकारसंग समन्वयन गरेर ड्याम बनाउने बताए ।

एन्फा केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले फिफाले नै कास्कीको लागि रकम दिएको जानकारी दिदैँ व्यवहारिक रुपमा सबैलाई सहयोग गर्न आग्रह गरे । विश्व फुटबल महासंघ (फिफा) को आर्थिक सहयोगमा बन्ने परियोजना ४ वर्षमा सक्ने लक्ष्य रहेको छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैँया बजेट परेको छ ।

सार्वजानिक सुनुवाई कार्यक्रम पश्चात अब एन्फाले सो क्षेत्रका स्थानीयहरुको समन्वय र सहकार्य संगै उठेका विभिन्न विषयमा छलफल गरी निष्कर्ष निकाल्दै टेन्डर प्रक्रियामा जाने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

पहिलो चरण अन्तर्गत अभ्यास मैदान, पुरुष होस्टल, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम हुने छ ।

Post Comments