Province 5 लखन ब्रदर्श र आयोजक वी ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी प्रथम वी ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार आ–आफ्नो खेलहरुमा जित निकाल्दै लखन ब्रदर्श क्लब र आयोजक वी ब्वाईज क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलमा लखन ब्रदर्शले ल्याड बेसक्याम्पलाई ३–० ले हरायो । लखन ब्रदर्शका लागि केशव नेपाली, आयुष गुरुङ र प्रविन पुनले गोल गरे । खेलमा लेखन ब्रदर्श कै केशव नेपाली प्लेयर अफ द म्याच बने ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा आयोजक वी ब्वाईजले फ्रीडम एफसीलाई टाईब्रेकरमा २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा वी ब्वाईजका गोलरक्षक हिमाल कार्की प्लेयर अफ द म्याच चुनिए ।

त्यस्तै आइतबार नै एक प्रिक्वाटरफाइनल खेल पनि सम्पन्न भएको थियो । जसमा एडरिक फुटसलले संघार समूहलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । खेलमा एडरिकका अस्मित शर्मा प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत भाद्र १५ गते सोमबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक हरि रासकोटीले जानकारी दिए ।

आउँदो भाद्र १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २७,७७७ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक हरि रासकोटीले बताए ।

 

Post Comments