गन्नी एफसी चौथो ज्योतिपुञ्ज कपको फाइनलमा, उपाधिका लागि भरतपुरसँग भिड्ने
गोलनेपाल

रामपुर, पाल्पा। चौथो ज्योतिपुञ्ज कप २०८३ को दोस्रो सेमिफाइनलमा गन्नी फुटबल क्लब, पोखरा, कास्कीले सम्पूर्ण युवा क्लब, सुपौली, रुपन्देहीलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

रामपुर–७, किसानबारीस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। गन्नी एफसीका आयुष घलानले खेलको २६औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा सम्पूर्ण युवा क्लबका कप्तान सुगम ठकुरीले ४०+२औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो।

दोस्रो हाफमा निर्णायक गोलको खोजीमा रहेका दुवै टोलीमध्ये गन्नी एफसी सफल भयो। खेलको ७६औँ मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा थप गोल हुन नसकेपछि गन्नी एफसीले जित निकाल्दै फाइनलमा भरतपुर फुटबल क्लबसँगको भेट पक्का गरेको हो।

उत्कृष्ट प्रदर्शन गरेका गन्नी एफसीका आयुष घलान खेलको प्लेयर अफ द म्याच घोषित भए।

श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा असोज २३ देखि ३१ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु. ३,६६,६६६ र उपविजेताले रु. २,२२,२२२ प्राप्त गर्नेछन्। प्रतियोगितामा सेमिफाइनलिस्ट टोलीसँगै उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

आयोजक क्लबका अध्यक्ष सुन्दर राना र खेल संयोजक अनिल शाही ठकुरी रहेका छन्। प्रतियोगिताको नारा ‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्नता हाम्रो अभियान’ रहेको छ।

अब प्रतियोगिताको उपाधिका लागि असोज ३१ गते भरतपुर फुटबल क्लब, चितवन र गन्नी फुटबल क्लब, पोखरा, कास्कीबीच फाइनल भिडन्त हुनेछ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

Post Comments