Province 5 गन्नी एफसी बन्यो चौथो ज्योतिपुञ्ज कपको च्याम्पियन
गोलनेपाल

रामपुर, पाल्पा। चौथो ज्योतिपुञ्ज कप २०८३ को उपाधि गन्नी फुटबल क्लब, पोखराले जितेको छ। रामपुर–७, किसानबारीस्थित खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा गन्नी एफसीले भरतपुर फुटबल क्लब, चितवनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। गन्नी एफसीका आशिष गुरुङले खेलको आठौँ मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको गन्नीलाई दोस्रो हाफमा भरतपुरले चुनौती दिएको थियो। खेलको ६५औँ मिनेटमा कृष्ण आलेले बराबरी गोल फर्काएपछि प्रतिस्पर्धा पेनाल्टी सुटआउटमा पुगेको थियो।

टाइब्रेकरमा गन्नी एफसीले ४–३ को जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो। यससँगै भरतपुर फुटबल क्लब उपविजेतामा सीमित बन्यो।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका गन्नी एफसीका आशिष गुरुङ प्लेयर अफ द म्याच घोषित भए।

व्यक्तिगत पुरस्कार

प्लेयर अफ द म्याच: आशिष गुरुङ (गन्नी एफसी)

उत्कृष्ट गोलरक्षक: दीप कार्की (गन्नी एफसी)

उत्कृष्ट रक्षक: आशिष गुरुङ (गन्नी एफसी)

उदयमान खेलाडी: सुगम ठकुरी (सम्पूर्ण युवा क्लब)

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी: रोशन पहारी (भरतपुर एफसी)

उत्कृष्ट प्रशिक्षक: किस्मत श्रेष्ठ (गन्नी एफसी)

सर्वाधिक गोलकर्ता: गणेश हमाल (ठकुरी कल्याण समाज), ६ गोल

श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा असोज २३ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको विजेता गन्नी एफसीले रु. ३,६६,६६६ तथा उपविजेता भरतपुर एफसीले रु. २,२२,२२२ प्राप्त गर्यो ।

आयोजक क्लबका अध्यक्ष सुन्दर राना र खेल संयोजक अनिल शाही ठकुरी रहेका छन्। प्रतियोगिताको नारा ‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्नता हाम्रो अभियान’ रहेको थियो।

Post Comments