Province 5 रुपन्देहीमा फुटसलको ‘प्लेटफर्म’ बन्दै युनिक
सुरज राना मगर

बुटवल । फुटबलपछि इन्डोरमा खेलिने फुटसल पनि नेपाली खेलप्रेमी माझ लोकप्रिय बनिरहेका बेला त्यो फुटसलबाट रुपन्देही पनि अछुतो छेन । बर्षैभरि साना तिना फुटसल प्रतियोगिता निरन्तर आयोजना भइरहने रुपन्देहीमा आफ्नो पहिचान र ब्राण्ड बनाउनमा व्यस्त छ युनिक फुटसल ।

आफ्नै फुटसल एरिना र आफ्नै टिम समेत रहेको युनिक फुटसलले यसै बर्षदेखि फुटसल प्रतियोगिता पनि आयोजना गर्ने जमर्को गरेको छ । तिलोत्तमा–५ मणिग्राममा अवस्थित युनिक फुटसलले यहि मंसिर १७ र १८ गतेका दिन प्रथम युनिक फुटसल प्रतियोगिताको आयोजना गर्दैछ ।

सम्पूर्ण तयारी समेत पूरा भईसकेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कार राशीको व्यवस्था गरिएको प्रतियोगिता संयोजक रहिश डुम्रेले जानकारी दिए ।

“फुटसललाई आफ्नै पहिचान र ब्राण्ड बनाउने योजनामा छौं । त्यहि योजना अनुरुप पहिलोपटक खुला फुटसल प्रतियोगिता आयोजना गर्दैछौं । हाम्रो लक्ष्य युवा तथा फुटसलमा लाग्ने नयाँ खेलाडीहरुलाई अवसर प्रदान गर्नु पनि हो ।” संयोजक डुम्रेले बताए ।

युनिक फुटसलले केहि महिना अघि सम्म राष्ट्रिय फुटसल लिगको छनौट पनि खेलेको थियो । तर राम्रो प्रयास गर्दा गर्दै पनि फाइनल चरणमा प्रवेश गर्न भने असफल भयो । यद्यपि युनिकले आफ्नो एउटा टिम बनाएर नियमित अभ्यास र प्रशिक्षण गरिरहेको समेत संयोजक डुम्रेले खुलाए ।

प्रतियोगितामा स्थानीय फुटसल टोलीहरुलाई अवसर प्रदान गर्ने भए तापनि सहभागि टोलीहरुमा राष्ट्रिय फुटसल खेलिसकेका खेलाडीहरुको उपस्थिति रहने डुम्रेले दावी गरे । प्रतियोगितालाई राष्ट्रियस्तर मै चिनाउने उद्देश्यका साथ आयोजना गर्न गईरहेको बताउँदै संयोजक डुम्रेले प्रतियोगितामा खेलाडीहरुको हेल्थ इन्स्योरेन्स समेत हुने बताए ।

त्यस्तै युनिक फुटसलका सञ्चालक रमेश डुम्रेले जिल्ला हुँदै राष्ट्रियस्तर मै पहिचान बनाउने उद्देश्यका साथ आफ्नै एउटा राम्रो टिम बनाउने लक्ष्य लिएको बताए । अहिले पनि युनिकको आफ्नै टिम रहेको बताउँदै सञ्चालक डुम्रेले निकट भविष्य मै राष्ट्रियस्तर मै प्रतिस्पर्धा गर्ने उत्कृष्ट टोली बनाउने बताए ।

फुटसलबारे राम्रो सम्भावना रहेकै कारण जिल्लामा आफूले फुटसल एरिना सञ्चालन गर्न अघि सरेको उनको भनाई थियो । “प्रतियोगिता पनि नियमित भईरहेको छ । अभ्यास गर्नेहरु पनि आइरहन्छन् । रुपन्देहीमा युनिकलाई नाम जस्तै फुटसलको एउटा पहिचानसहित आकर्षक गन्तव्य बनाउने योजना छ ।” सञ्चालक रमेश डुम्रेले भने ।

 

 

Post Comments