Province 5 लिस्नु कप भाद्र १८ देखि, विजेतालाई ३ लाख
सुरज राना मगर

बुटवल । रुपन्देही कै पुरानो मध्ये एक लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २०औं संस्करण आउँदो भाद्र १८ गतेदेखि शुरु हुने भएको छ । तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थ मल्लले बताए ।

हाल मैदान मिलाउने काम भईरहेको र त्यसपछि अस्थायी प्यारापिट लगायतका अन्य भौतिक कार्यहरु पनि शुरु गरिने अध्यक्ष मल्लले बताए । साथै प्रतियोगिताको प्रचार प्रसारको काम पनि शुरु गरिसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा रुपन्देहीसहित बाहिरी जिल्लाका क्लबहरुको पनि सहभागिता रहने निश्चित छ ।

यसपटक प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन श्रीमाया गुरुङले गरेकी छिन् । उनले आफ्नो स्वर्गिय पिता डिम बहादुर गुरुङको स्मृतिमा पुरस्कार प्रायोजन गरेकी हुन् । उनले प्रथम पुरस्कार वापत ३ लाख नगद प्रायोजन गरेकी हुन् ।

यो प्रायोजनसँगै प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५–२५ हजार पाउने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले बताए ।

रुपन्देहीमा पछिल्ला केही वर्ष कोरोना महामारीका थलिएको फुटबल लिस्नु कपको आयोजनासँगै फेरि लयमा फर्किने अनुमान गरिएको छ । प्रतियोगिताको गत संस्करणको उपाधि फर्साटिकर युवा क्लबले जितेको थियो ।

स्मरण रहोस, आयोजक लिस्नु युवा क्लबले फुटबल प्रतियोगिताको आयोजना र सहभागितासँगै विभिन्न सामाजिक कार्यहरुमा पनि निरन्तर सहभागिता जनाउने र आयोजना गर्दै आईरहेको छ ।

Post Comments