Province 5 झरना स्पोर्टसले पायो नयाँ नेतृत्व
सुरज राना मगर

बुटवल । रुपन्देहीको पुरानो र चर्चित क्लब मध्ये एक झरना स्पोर्टस क्लब, तिलोत्तमा–६ कुञ्जलापुरले गंगा प्रसाद रानाको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । क्लबको हालै सम्पन्न ६२औं साधारणसभा तथा ३०औं अधिवेशनले नयाँ नेतृत्व पाएको हो ।

कुञ्जलापुर स्थित मगर भवनमा सम्पन्न अधिवेशनबाट क्लबको उपाध्यक्षमा नगेन छन्त्याल चयन भएका छन् । त्यस्तै सचिवमा सिजन थापा तथा सह–सचिवमा सबिता थापा चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा निर्मल थापा रहेका छन् ।

क्लबको सदस्यहरुमा भने सुदर्शन गुरुङ, नन्दलाल थारु, राम प्रसाद थापा, खेम बहादुर थापा, नरेश राना, गोपाल गलामी, काजीमान गलामी, बिशाल गुरुङ, बिष्णु सिंजाली, जमुना राना र नेहा राना चयन भएका छन् ।

नयाँ नेतृत्व चयन भएपछि क्लबका नयाँ अध्यक्ष गंगा प्रसाद रानाले पुरानो कार्यसमिति सहित क्लबका सबै शुभेच्छुकहरुमा धन्यवाद र आभार प्रकट गरे । क्लबले खेलकुद र सामाजिक कार्यमा गरेका सबै क्रियाकलापहरुलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले सबैलाई मिलाएर क्लबलाई थप उचाईंमा पुर्याउन आफूले सकेको पहल गर्ने पनि बताए ।

स्मरणीय छ, झरना स्पोर्टस क्लबले स्थानीय स्तरमा मात्र नभएर राष्ट्रियस्तरमा पनि फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाएर सफलता समेत हासिल गरेको छ । त्यति मात्र नभएर जिल्ला कै पुरानो र प्रतिष्ठित मध्ये एक झरना रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिता पनि वार्षिक रुपमा आयोजना गर्दै आईरहेको छ ।

Post Comments