Province 5 उपाधिका लागि डोना एफए र कोब्रा भिड्ने
सुरज राना मगर

पिपरा । यहाँ जारी दोस्रो जनप्रेमी कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा डोना फुटबल एकेडेमी र कोब्रा फुटबल क्लब भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तरगत शुक्रबार दुई सेमिफाइनलहरु एकै दिन सम्पन्न भए । बैजलपुर खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा डोना एफएले मुहान एफसीलाई ६–१ ले हरायो । डोना एफएको जितमा डोना थापाले ह्याट्रिक गर्दा कप्तान एरोन थापाले दुई तथा एलन थापाले थप एक गोल गरे । रमाईलो संयोग कस्तो भन्दा डोना एफएका लागि गोल गर्ने तीनै खेलाडी सहोदर दाजुभाई समेत हुन् ।

उता पराजित मुहानका लागि आशिष रोकाले एक मात्र गोल फर्काएका थिए । खेलमा ह्याट्रिक गरेका डोना थापा म्यान अफ द म्याच चुनिए । शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा कोब्रा एफसीले आयोजक जनप्रेमी युवा क्लबलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा कोब्राका फोफोना म्यान अफ द म्याच चुनिए ।

फाइनल खेल यहि असोज ३० गते आइतबारका दिन डोना एफए र कोब्रा एफसीबीच हुने आयोजक जनप्रेमी युवा क्लबका अध्यक्ष दिलिप गाहा मगरले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४०,१११ रुपैयाँ प्राप्त गर्ने पनि अध्यक्ष गाहाले बताए ।

 

Post Comments