Province 5 डोना एफएलाई दोस्रो जनप्रेमी कपको उपाधि
सुरज राना मगर

पिपरा । रोमाञ्चक जितका साथ यहाँ सम्पन्न दोस्रो जनप्रेमी कप नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि डोना फुटबल एकेडेमी, सितलापुरले जितेको छ । फाइनलमा कोब्रा एफसी, कपिलवस्तुलाई ३–२ ले हराउँदै डोना एफए च्याम्पियन बनेको हो ।

बैजलपुर खेलमैदानमा सम्पन्न उपाधि भिडन्तमा डोना एफएका लागि कप्तान एरोन थापाले दुई गोल गरे भने उमेश थापाले थप एक गोल गरेका थिए । उता कोब्राका लागि फोफनाले एक गोल गर्दा थप एक गोल शाहिदले पेनाल्टीमार्फत गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच डोना एफएका उमेश थापा चुनिए । विजेता बनेको डोना एफएले उपाधिसहित ७०,१११ रुपैयाँमा चित्त बुझायो भने उपविजेता कोब्राले ४०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक कोब्राका भिम पुन घोषित भए भने उत्कृष्ट डिफेन्डर डोना एफएका पुरन भण्डारी मगर चुनिए । उत्कृष्ट मिडफिल्डर पनि डोना एफएका जितेश गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार डोना एफएका कप्तान एरोन थापाले हात पारे ।

त्यस्तै उदियमान खेलाडी आयोजक जनप्रेमी युवा क्लबका विधान थापा घोषित भए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने डोना एफए कै एलन थापा घोषित भए ।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिका, कपिलवस्तुका मेयर चक्रपाणी अर्याल, आयोजक क्लबका अध्यक्ष दिलिप गाहा मगर लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए । समापन कार्यक्रममा बोल्दै अतिथी अर्यालले जनप्रेमी क्लबले फुटबल प्रतियोगिता आयोजना गरेर खेल गतिविधीलाई सक्रिय राखेकोमा धन्यवाद दिंदै नगरभित्र हुने खेलकुद गतिविधीहरुमा नगरपालिकाबाट सकेको सहयोग निरन्तर हुने प्रतिवद्धता जनाए ।

श्री जनप्रेमी युवा क्लब, वाणगंगा–२, पिपरा, कपिलवस्तुको आयोजनामा गत असोज २३ गतेबाट शुरु प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका गरि कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । सो अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्नु सहयोग पुर्याउने सबैलाई अध्यक्ष गाहाले आभार र धन्यवादसहित सम्मानित गरेका थिए ।

उनले प्रतियोगितालाई आगामी दिनमा थप भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य लिएको पनि बताए । साथै कपिलवस्तु जिल्लाको फुटबल विकासमा जनप्रेमी कपलाई कोशेढुंगाका रुपमा सात्रित गर्न आफूहरु सधै लागिपर्ने पनि बताए ।

समापन कार्यक्रम कै दिन आत्मियता र भाईचारा कायम गर्ने उद्देश्यका साथ आयोजक जनप्रेमी युवा क्लबले मैत्रीपुर्ण भेट्रान्स फुटबल म्याच पनि आयोजना गरेको थियो ।

 

Post Comments