Province 5 तेस्रो सुस्ता अध्यक्ष कप शुरु, न्यु हिउचुलीको विजयी शुरुवात
सुरज राना मगर

सुस्ता । छोटो समयमै मोफसलको फुटबलमा आफूलाई अभ्यस्त बनाउन सफल र प्रयासरत सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखि शुरु भएको छ । सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा न्यु हिउचुली युवा क्लब, बोहियाले विजयी शुरुवात गर्यो ।

न्यु हिउचलीले उद्घाटन खेलमा बर्दघाट नगर खेलकुद विकास समिति, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । न्यु हिउचुलीको जितमा अनुज गैरेले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता अनुज गैरे नै म्यान अफ द म्याच पनि चुनिए ।

यो जितसँगै न्यु हिउचुली प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ ११ गते बुधबारको खेल साझा युवा क्लब, रामग्राम र सुस्ता–११ बीच हुने प्रतियोगिता संयोजक समराज गुरुङ्गले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्तमका बीच प्रमुख अतिथी लुम्बिनी सभा सदस्य देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय तथा सुस्ता गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष निल बहादुर गुरुङ्गले संयुक्त रुपमा गरेका थिउ ।

सुस्ता गाउँपालिका, नवलपरासी (बसुप) को आयोजना तथा सुस्ता गाउँपालिका वार्ड नम्बर ४, नर्सहीको व्यवस्थापनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित १,५१,००० रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १,०१,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक समराज गुरुङ्गले बताए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २१ गतेका दिन हुनेछ ।

Post Comments