Province 5 २८ बिघा पाल्पा गोल्डकपको क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । संघर्षपुर्ण जितका साथ २८ बिघा फुटबल क्लब, नवलपुर जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ २८ बिघाले रुपन्देही–११ लाई टाईब्रेकरमा हराउँदै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । त्यसअघि टुंडिखेल मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको दोस्रो हाफतर्फ १३औं मिनटमा प्रकाश पुनको गोलबाट २८ बिघाले खेलमा अग्रता बनाए पनि त्यो अग्रता जोगाउन सकेन । खेलको अन्तिमतिर रुपन्देहीका लागि बलराम न्यौपानेले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने २८ बिघाले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा २८ बिघाका गोलरक्षक बिरेन्द्र सारु म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ १७ गते बुधबारको रडस रामपुर एफसी, चितवन र गार्डेन एफसी, पोखराबीच हुने खेल संयोजक करण चित्रकारले जानकारी दिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २७ गतेका दिन हुनेछ ।

Post Comments