Province 7 गौरीगंगा गोल्डकपको उपाधि फोर ब्रदर्श नवलपरासीलाई
गोलनेपाल
कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नवलपरासीको फोर ब्रदर्श एफसीले जितेको छ ।

आज भएको फाइनल खेलमा कैलालीको स्टार सिटी युवा क्लबलाई टाईब्रेकरमा हराउँदै फोर ब्रदर्श एफसी च्याम्पियन बनेको हो । फोर ब्रदर्श एफसीले स्टार सिटीलाई टाईब्रेकरमा ५—४ ले हराएर उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समय दुवै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको २७ औँ मिनेटमा स्टार सिटीका कमल देउवाले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ४२ औँ मिनेटमा फोर ब्रदर्शका दामोदर थापाले खेल बराबरी गरे । त्यसपछि निर्धारित समयमा थप गोल नभएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा फोर ब्रदर्शका लागि सुदीप केसी, आशिष् ज्ञवाली, मिसन दर्लामी, मनोज श्रेष्ठ र हरि बुढामगरले गोल गरे । स्टार सिटीका लागि युवराज ढकाल, माधव भण्डारी, कुशल देउवा, किरण बोहराले गोल गरे । विक्रम लामाको प्रहार भने गोलमा परिणत हुन सकेन । 

प्रतियोगिताको उपाधिसँगै फोर ब्रदर्शले ट्रफी सहित नगद ४ लाख प्राप्त गरेको छ । उपविजेता स्टार सिटीले ट्रफी सहित नगद २ लाखमा चित्त बुझाएको छ । ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी फोर ब्रदर्श दामोदर थापा भए । उनले नगद ५० हजार प्राप्त गरे । 

यस्तै सर्वाधिक गोलकर्ता फोर ब्रदर्शका विनोद केवट, उत्कृष्ट गोलरक्षक  फोर ब्रदर्शका हरि बुढा मगर, उत्कृष्ट प्रशिक्षक फोर ब्रदर्शका धर्मराज भुसाल,  उत्कृष्ट रक्षक स्टार सिटीका विष्णु चौधरी, उदयमान खेलाडी गौरीगंगा—११ स्पोर्टस क्लबका नीराजन धामी भए । उनीहरूले जनही नगद १० हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गौरीगंगा नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखलगायतले पुरस्कार वितरण गरे । 

चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । आगामी संस्करणलाई थप पुरस्कार राशि सहित आयोजना गर्ने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका थिए । 
Post Comments