South Asia किरनलाई 'गोल्डेन ग्लोब्स'
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन लिग (आई लिग) मा राउण्डग्लास पञ्जाब एफसीका लागि खेलेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ सिजन २०२०–२१ को उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।

उत्कृष्ट गोलरक्षक चुनिए वापत किरनले गोल्डेन ग्लोब्स हात पारे । लिग अवधिभर कुल तीन पल्ट हिरो अफ द म्याच समेत चुनिएका किरनले सर्वाधिक ७ क्लिन शिट आफ्नो नाममा पारेका थिए ।

स्मरण रहोस, यसपटक लिगको च्याम्पियनसिप स्टेजमा पुगेर लिग उपाधिका लागि समेत भिडेको किरनको टोली पञ्जाब शिर्ष ६ टोलीहरुमध्ये १५ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा रह्यो ।

लिग च्याम्पियन भने २९ अंक जोडेको गोकुलम केरला एफसी बन्यो । साथै केरला आगामी सिजनको प्रतिष्ठित एएफसी कपको समूह चरणमा खेल्नका लागि समेत छनौट भयो । समान २९ अंक भए तापनि चर्चिल ब्रदर्श भने दोस्रो स्थानमा रहेर उपविजेता बन्न बाध्य भयो ।

व्यक्तिगत विधातर्फ ट्राउको वर्चश्व

त्यस्तै लिगको समापन पश्चात व्यक्तिगत विधातर्फको पुरस्कार घोषणा गर्दा २६ अंकका साथ तेस्रो स्थानमा रहेर लिगको समापन गरेको ट्राउको वर्चश्व रह्यो ।

ट्राउका विद्यासागर सिंह लिग कै सर्वोत्कृष्ट खेलाडी चुनिए र गोल्डेन बुट पनि जित्न सफल भए । त्यस्तै ट्राउकै फाल्गुनी सिंह उत्कृष्ट मिडफिल्डर तथा नन्दकुमार सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।

चर्चिल ब्रदर्शका हम्जा खेरले उत्कृष्ट डिफेन्डरको पुरस्कार हात पार्दा गोकुलम केरलाका इमिल बेन्नी लिगको उदीयमान खेलाडी घोषित भए ।

Post Comments