South Asia मैत्रीपुर्ण म्याच प्रस्तावका लागि भारत पनि उत्साहित
गोलनेपाल

काठमाडौं । मैत्रीपूर्ण फुटबल म्याचका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अल इण्डिया फुटबल फेडरेशनलाई गरेको प्रस्तावलाई लिएर फेडरेशन उत्साहित देखिएको छ ।

एन्फाबाट मैत्रीपुर्ण फुटबल म्याचका लागि आधिकारिक प्रस्ताव आएपछि फेडरेशन खुशी र उत्साहित देखिएको हो । त्यसबारे फेडरेशनले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गरेको छ ।

एन्फाले गरेको प्रस्ताव उपर फेडरेशन सकरात्मक देखिएको छ । खासगरी भारतले युरोपियन वा अन्य एसियाली राष्ट्रहरुसँग मैत्रीपुर्ण म्याच खेल्ने योजना रहे तापनि तत्कालको परिस्थतिमा त्यो असहज बनेको बताएको छ ।

हाल विश्वव्यापी रुपमा फेलिएको महामारी कोभिड–१९ का कारण धेरैजसो देशहरुमा आवतजावत गर्न कडाई भएपछि खेलाडी र अफिसियलहरुको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै फेडरेशनले अन्य देशहरुसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्न तत्काल असमर्थ रहेको बताएको छ ।

त्यस्तै फेडरेशनले मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतीय खेलाडीहरुलाई नेपालमा त्यस्तो असहजता नहुने भएकोले आफूहरु उत्साहित रहेको समेत बताएको छ । साथै एन्फाले गरेको मैत्रीपुर्ण फुटबल म्याचको प्रस्तावका लागि फेडरेशनले धन्यवाद समेत दिएको छ । र यसबारे प्रशिक्षकहरुसँग आवश्यक छलफल भईरहेको जनाएको छ ।

नेपाल र भारतले दुई म्याच खेल्ने

एन्फाले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत भारतसँग दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने तय भएको जनाएको थियो । एन्फाका अनुसार आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन काठमाडौं स्थित दशरथ रंगशालामा ती दुई खेलहरु हुने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप २०२३ को छनौट प्रतियोगिता अन्तरगत तेस्रो चरणमा प्रवेश गर्न सफल भएका नेपाल र भारत तत्कालका लागि आगामी साफ च्याम्पियनसिपको तयारीमा छन् । जुन प्रतियोगिता यहि बर्षको अक्टुबरमा हुने बताइएको छ ।

यद्यपि प्रतियोगिताको आयोजक राष्ट्रबारे भने अझै केही टुंगो लागेको छैन । यसअघि बंगलादेशमा हुने भनिए तापनि पछि साफले त्यहाँ नगर्ने घोषणा गरेको थियो । त्यसपछि प्रतियोगिता आयोजनाका लागि नेपाल र माल्दिभ्सले आ–आफ्नो दावेदारीता प्रस्तुत गरेका थिए ।

(तस्विरः एआईएफएफ)

Post Comments