South Asia रसियासँगको हारले नेपालको सम्भावना समाप्त
गोलनेपाल

काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ महत्वपूर्ण मानिएको खेलमा पाहुना टोली रसियासँग पराजित भएपछि नेपालको सम्भावना समाप्त भएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार थियो । आइतबार ढाका स्थित बिर श्रेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले रसियासँग ०–३ को हार बेहोर्यो ।

पहिलो खेलमा भारतसँग ४–१ ले पराजित हुन पुगेका नेपालले दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो । उपाधि होडमा आफ्नो सम्भावना कायम राख्न नेपाललाई आजको खेलमा आफु अनुकुल नतिजा निकाल्नुपर्ने दबाब थियो । तर नेपाली टोली निराश बन्न पुग्यो ।

उता यो जितसँगै शतप्रतिशत नतिजा निकालेको रसिया उपाधि नजिक पुगेको छ । यद्यपि उपाधि होडमा भारत र बंगलादेश पनि कायम छन् । भारतले आइतबार नै भएको आफ्नो तेस्रो खेलमा भुटानमाथि ९–० को जित दर्ता गरेको थियो ।

आइतबारको नतिजापछि ३ खेलबाट ९ अंक जोडेको रसिया शिर्ष स्थानमा छ । ६–६ अंक जोडेको भारत र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै ३ अंकका साथ नेपाल चौथो स्थानमा रहँदा अंकविहीन भुटान पुछारमा छ ।

लिग चरणको निर्णायक खेलहरु मंगलबार हुनेछ । जहाँ नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ भने अर्को खेलमा भारत र रसिया भिड्ने छन् । यी दुवै खेलको नतिजापछि नै साफ यु–१७ महिला च्याम्पियनसिपको नयाँ विजेता तय हुनेछ ।

Post Comments