South Asia बंगलादेश र रसियाको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेश र पाहुना टोली रसियाले लगातार दोस्रो जित हात पारेका छन् । लिग चरणतर्फ आफ्नो दोस्रो खेलमा बंगलादेशले बलियो भारतमाथि शून्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्यो ।

ढाका स्थित बिर शेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलको ७४औं मिनटमा भारतकी अखिला राजनले गरेको आत्मघाती गोल नै बंगलादेशलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ८–१ ले हराएको थियो भने भारतले नेपालमाथि ४–१ को जित निकालेको थियो ।

त्यस्तै शुक्रबार नै सोही मैदानमा भएको अर्को खेलमा रसियाले भुटानमाथि ९–१ को जित निकाल्यो । रसियाले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । रसियाले आफ्नो आगामी खेल आइतबार नेपाल विरुद्ध खेल्दैछ ।

शुक्रबारको नतिजापछि २ खेलबाट ६–६ अंक जोडेका रसिया र बंगलादेश क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान ३–३ अंक जोडेका भारत र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने अंकविहीन भुटान पुछारमा छ ।

Post Comments