AFC/FIFA एएफसी कपः प्ले अफमा जान तयार छन् आर्मी र बैंगलुरु
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको चर्चित बैंगलुरु एफसीसँग आज खेल्दैछ ।

भारतको गोवा शहर स्थित जिएमसी स्टेडियममा हुने खेलका लागि आर्मी आइतबार नै भारततर्फ प्रस्थान गरेको थियो । आर्मीले पहिलो चरणतर्फ दशरथ रंगशालामा भएको खेलमा श्रीलंका पुलिस एससीलाई ५–१ ले हराउँदै बैंगलुरुसँगको भेट पक्का गरेको थियो ।

आर्मीले आजको खेल जित्न सफल भए टोलीले साउथ एसियन जोनको प्ले अफ खेल्न पाउनेछ । प्ले अफमा भने आर्मीले बंगलादेशको अवाहानी युनाइटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । प्ले अफमा पनि जित हात पार्न सके आर्मी ऐतिहा िसक रुपमै पहिलोपटक एएफसीको समूह चरणमा प्रवेश गर्नेछ ।

यद्यपि आर्मीको त्यो यात्रा त्यति सहज भने छैन । इण्डियन सुपर लिगको विजेता बनिसकेको बैंगलुरु अनुभवी टोली पनि हो । बैंगलुरुले पाँचपल्ट एएफसी कपमा सहभागिता जनाइसकेको छ । त्यसमध्ये सन् २०१६ मा बैंगलुरु फाइनलमा समेत पुगेको थियो ।

बैंगलुरुले यसअघि नै आर्मीलाई हलुका रुपमा नलिने बताइसकेको छ । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीको कप्तानी रहने बैंगलुरुमा राष्ट्रिय टोलीकाअधिकांश मुख्य खेलाडी तथा अनुभवी विदेशी खेलाडीहरुको सम्मिश्रण रहेको छ । यद्यपि बैंगलुरुलाई आर्मीले पनि कडा चुनौति दिने अनुमान गरिएको छ ।

आजको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि शुरु हुने बताइएको छ । जुन खेल बैंगलुरु एफसीको आधिकारिक युट्युब च्यानलमा पनि प्रत्यक्ष प्रसारण हुने क्लबले जनाएको छ ।

Post Comments