AFC/FIFA आर्मीको एएफसी कपको यात्रा समाप्त
गोलनेपाल

काठमाडौं । पहिलोपटक एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणसम्म पुग्न सफल भएको त्रिभुवन आर्मी फुटबल क्लबको एएफसीको कप यात्रा दोस्रो चरणबाटै समाप्त भएको छ ।

बुधबार गोवामा सम्पन्न खेलमा आर्मीले घरेलु टोली बैंगलुरु एफसीसँग ०–५ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन बाध्य भएको हो । गोवा स्थित जिएमसी एथलेटिक स्टेडियममा बैंगलुरुलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको आर्मीले दोस्रो हाफमा भने पाँच गोल खान पुगेको थियो ।

बैंगलुरुको जितमा राहुल भेके र क्लिटन सिल्वाले दुई–दुई गोल गरे । थप एक गोल भने कप्तान सुनिल क्षेत्रीको नाममा रह्यो । यो जितसँगै बैंगलुरु प्ले अफ राउण्डमा प्रवेश गर्न समेत सफल भएको छ । बैंगलुरुले अब साउथ एसियन जोनतर्फको प्ले अफमा अवाहानी ढाका र क्लब इगल्सबीचको विजेतासग खेल्नेछ ।

स्मरण रहोस, आर्मीले दशरथ रंगशालामा हालै सम्पन्न प्रारम्भिक छनौटतर्फको पहिलो चरणको खेलमा श्रीलंका पुलिस एससीलाई ५–१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । तर आर्मीले बुधबार सोही प्रदर्शनलाई बैंगलुरु विरुद्ध भने निरन्तरता दिन सकेन ।

Post Comments