AFC/FIFA अल नासर विरुद्ध रेखाको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक समूहको छनौट खेलतर्फ निर्णायक मानिएको खेलमा आफ्नो क्लब अबुधाबी काउन्ट्री क्लबका लागि नेपालकी उदाउँदी फरवार्ड रेखा पौडेलले निर्णायक गोल गरेकी छिन् ।

समूह ए मा रहेको अबुधाबीले शनिबार राती आफ्नो अन्तिम खेलमा साउदी अरबको बलियो अल नासरलाई जित्नै पर्ने दबाब थियो । जसमा रेखा निर्णायक साबित भईन् । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी रेखाले ६८औं मिनटमा टोलीका लागि निर्णायक गोल गरिन् ।

स्मरण रहोस, रेखाले पहिलो खेलमा पनि कम्बोडियन क्लब योङ एलिफेन्टस विरुद्ध ऐतिहासिक र डेब्यु गोल गरेकी थिईन् । यो जितपछि शतप्रतिशत नतिजाका साथ ३ खेलबाट ९ अंक जोडेको अबुधाबी फाइनल समूह चरणका लागि छनौट भएको छ ।

अल नासर ६ अंकका साथ दोस्रो स्थानमा रहँदा योङ एलिफेन्टस ३ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै म्यानमारको म्यावडी भने अंकविहीन रुपमा पुछारमा छ । यो समूहबाट अबुधाबी बाहेक अन्य तीन टोली बाहिरिएका छन् ।

त्यस्तै अबुधाबी फाइनल समूह चरणतर्फ पनि समूह ए मै परेको छ । जहाँ अबुधाबीले चीनको वुहान जियाङदा, दक्षिण कोरियाको इन्न्योन रेड एन्जल्स र मलेसियाको सवाह एफएसँग खेल्नेछ । सवाहले प्रारम्भिक समूह चरणतर्फ नेपालको प्रतिनिधित्व गरेको एपिएफ फुटबल क्लबकै समूहमा रहेर छनौट भएको हो ।

Post Comments