AFC/FIFA कतारले पोर्चुगलसँगै युरोपियन छनौट खेल्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियन च्याम्पियन कतारले फिफा विश्वकप छनौट २०२२ तर्फ युरोपियन छनौटमा प्रतिस्पर्धा गर्ने भएको छ । यो कुराको पुष्टी एसियाली फुटबल महासंघ (एएफसी) ले समेत गरेको छ ।

आगामी विश्वकपको आयोजक राष्ट्र समेत रहेको कतारले अब फिफा विश्वकप २०२२ को एसियन छनौटतर्फ फाइनल राउण्डको छनौट खेलहरु खेल्ने छैन । यो निर्णय सार्वजनिक भएसँगै कतारका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले पनि खुशी व्यक्त गरेका छन् ।

सान्चेज भन्छन्, मेरो विचारमा यो अवसर कतार एफएले आफ्नो राष्ट्रिय फुटबल टोलीको क्षमता विकासका लागि चालेको एउटा ठूलो र महत्वपूर्ण कदमका रुपमा लिएको छु । सान्चेजका अनुसार कतारको यो सहभागिताले टोलीलाई आगामी विश्वकपको राम्रो तयारी गर्न थप सहयोग पुग्ने बताए ।

छनौटतर्फ कतारले युरो च्याम्पियन पोर्चुगलसँग पनि खेल्ने

युरोपियन छनौटतर्फ खेल्ने भएसँगै कतारलाई समूह ए मा राखिएको छ । जहाँ कतारले युरोपियन च्याम्पियन पोर्चुगल, सर्बिया, गणतन्त्र आयरल्याण्ड, लक्जेम्बर्ग र अजरबैजानसँग खेल्नेछ । यद्यपि सो समूहमा कतारसँगको खेलको नतिजालाई अंकतालिकामा भने समावेश गरिने छैन । 

कोपा अमेरिकामा पनि कतार

स्मरण रहोस, कतारले आगामी बर्षको कोपा अमेरिका पनि खेल्ने तय भइसकेको छ । कोलोम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्न गईरहेको प्रतियोगितामा कतारले आयोजक कोलम्बिया सहित डिफेन्डिङ च्याम्पियन ब्राजील, भेनेजुएला, इक्वेडर र पेरुसँग खेल्नेछ ।

Post Comments