
खैरेनी । एरोन थापा एक्लैले दुई गोल गरेपछि सितल युथ क्लब दोस्रो देवदह कप खुला नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । आइतबार सम्पन्न फाइनलमा सितल युवा क्लबले देउराली फोर ब्रदर्शमाथि ३–१ को जित निकाल्दै उपाधि माथि कब्जा जमाएको हो ।
देवदह, खैरेनी स्थित पानबारी खेलमैदानमा भएको फाइनल भिडन्तमा शुरुवातबाटै हावी देखिएको सितलका लागि नवौं मिनटमा कप्तान डोना थापाले सुन्दर फ्रिकिकबाट पहिलो गोल गरेका थिए । त्यस्तै ३२औं र ५९औं मिनटमा डोना कै कान्छा भाई समेत रहेका एरोन थापाले लगातार दुई गोल थप्दै सितल युवा क्लबको जितको आधार सुनिश्चित गरेका थिए ।
उता पराजित फोर ब्रदर्शका लागि ७६औं मिनटमा राजन थापाले एक गोल फर्काए तापनि त्यो गोल टोलीको हार टार्नका लागि प्रर्याप्त बनेन । विजेता बनेको सितल युवा क्लबले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता फोर ब्रदर्शले ७५ हजारमा चित्त बुझायो ।
एरोन बने सर्वोत्कृष्ट खेलाडी
प्रतियोगिताको फाइनलमा सितल युथ क्लबका लागि दुई गोल गरेका एरोन थापा सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि सितल कै सोजित गुरुङ चुनिए भने उत्कृष्ट डिफेन्डर आयोजक डि युनिटीका सुजन गुरुङ घोषित भए । उत्कृष्ट मिडफिल्डर सितल कै कप्तान डोना थापा चुनिंदा सर्वाधिक गोलकर्ताको पुरस्कार फोर ब्रदर्शका नविन महतोले पाए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार हात पारे । विजयी खेलाडीहरुलाई मुख्य अतिथी समेत रहेका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, उपमेयर विद्या लक्ष्मी गुरुङ, आयोजक डि युनिटी युवा क्लबका अध्यक्ष सन्तोष घले लगायतले पुरस्कृत गरेका थिए ।
डि युनिटी युवा क्लब, देवदह खैरेनीको आयोजनामा गत माघ २६ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य प्रायोजन सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशले गरेको थियो । साथै समापनका अवसरमा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजक क्लबका अध्यक्ष तथा संयोजक सन्तोष घलेले आभार र धन्यवाद समेत प्रकट गरेका थिए ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय