ANFA सिरहाको सल्हेश ताप्लेजुङ गोल्डकपको फाइनलमा
रमेश समदर्शी

फुङलिङ । पाहुना टोली भारतको जर्जियन एफसीलाई रोक्दै डिफेन्डिङ च्याम्पियन सल्हेश युवा क्लब सिरहा यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो संस्करणमा फाइनलमा पुगेर उपविजेतामा समेटिएको सल्हेशले तेस्रो संस्करणमा च्याम्पियन बन्दै उपाधि रक्षा गरेको थियो । भारतीय टोलीलाई २-० गोलले पराजित गर्दै सल्हेशले तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सौरभ सुब्बाको स्थानमा परिवर्तित खेलाडी निशकुमार श्रेष्ठले सुरुवाती गोल गर्दै अग्रता दिलाएका थिए । पानीझरीका कारण दुवै टोलीले अपेक्षित खेल पस्कन सकेका थिएनन् ।

खेलको ६३औँ मिनेटमा फागुराम थारुको एसिस्टमा निशकुमारले गोलको खाता खोलेका थिए । यसैगरी, निशकुमारको एसिस्टमा ७३औँ मिनेट फागुराम थारुले दोस्रो गोल गर्न सफल भए । फागुराम प्लेयर अफ दी म्याच बन्दै नगद ७ हजार पाउन सफल भए ।

बुधबार झापा ११ एफसीले फिदिम स्पोर्टिङ क्लब पाँचथरसँग अन्तिम सेमिफाइनल खेल्ने छ । झापाबाट राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् । भदौ १९ गते हुने फाइनल खेलको विजेताले नगद ७ लाख २ हजार ८३ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पाउने छ ।

टिकट खरिद गर्ने भाग्यशाली एक जना दर्शकले फाइनल खेलमा स्कुटी पाउने व्यवस्था मिलाइएको छ । सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । दैनिकरुपमा भाग्यशाली उपहारमार्फत एक जनाले इन्डक्सन चुल्हो पाइरहेका छन् ।

Post Comments