बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० मा जारी वी ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा लखन ब्रदर्श युथ क्लब र आयोजक वी ब्वाईज क्लब भिडने भएका छन् ।
मंगलबार दुवै सेमिफाइनल खेलहरु सम्पन्न भए । पहिलो सेमिफाइनलमा लखन ब्रदर्शले युरी एफसीलाई १–० ले हराउँदै फाइनल यात्रा तय गर्यो । लखनको जितमा सुशन क्षेत्रीले गोल गरे । खेलमा निर्णायक गोलकर्ता सुशन क्षेत्री नै प्लेयर अफ द म्याच बने ।
त्यस्तै दोस्रो सेमिफाइनलमा वी ब्वाईजले एडरिक एफसीलाई २–० ले पराजित गर्दै फाइनल स्थान सुनिश्चित गर्यो । वी ब्वाईजको जितमा कप्तान अंगत थापा र जीवन राई मगरले गोल गरे । खेलमा वी ब्वाईजका जीवन राई मगर प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत अब भाद्र १७ गते बुधबार हुने फाइनलमा लखन ब्रदर्श युथ क्लब र आयोजक वी ब्वाईज क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २७,७७७ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक हरि रासकोटीले बताए ।