रामपुर, पाल्पा। चौथो ज्योतिपुञ्ज कप २०८३ को पहिलो सेमिफाइनलमा भरतपुर फुटबल क्लब, चितवनले सूर्यपुर एफसी, कालिका, चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको छ।
रामपुर–७, किसानबारीस्थित खेलमैदानमा सम्पन्न खेलमा भरतपुरका विज्ञान खड्काले पहिलो हाफको ३५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। खड्काको त्यही गोलको मद्दतमा भरतपुरले जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। निर्णायक गोलकर्ता विज्ञान खड्का खेलको प्लेयर अफ द म्याच घोषित भए।
श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा असोज २३ देखि ३१ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु. ३,६६,६६६ र उपविजेताले रु. २,२२,२२२ प्राप्त गर्नेछन्। प्रतियोगितामा सेमिफाइनलिस्ट तथा उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।
आयोजक क्लबका अध्यक्ष सुन्दर राना र खेल संयोजक अनिल शाही ठकुरी रहेका छन्। प्रतियोगिताको नारा ‘उत्कृष्ट खेल, स्तरीय मैदान, रामपुर रंगशाला सम्पन्नता हाम्रो अभियान’ रहेको छ।
भोलि दिउँसो ३ बजे गन्नी फुटबल क्लब, पोखरा, कास्की र सम्पूर्ण युवा क्लब, सुपौली, रुपन्देहीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। विजेता टोलीले फाइनलमा भरतपुर एफसीको सामना गर्नेछ।
प्रतियोगिताका खेलहरू गोलनेपाल डटकममार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन्।