News बसन्तको दुई गोलसँगै भगवती चौथो न्यु युथ युनियन कपको सेमिफाइनलमा
गोलनेपाल

तानसेन । रोमाञ्चक पूनःरागमनका साथ भगवती फुटबल क्लब, तानसेन पाल्पामा जारी चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न चौथो क्वाटरफाइनलतर्फ भगवतीले योङ ब्वाईज फुटबल क्लब, रुपन्देहीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा सागर कटुवालको गोलबाट योङ ब्वाईजले शुरुवाती गोल गरे तापनि भगवतीका लागि बसन्त रानाले दुवै गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरेका थिए । खेलमा नायक बनेका भगवतीका बसन्त राना नै म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बेशाख २३ गते बुधबारको खेल देवदह ब्वाईज, रुपन्देही र मनोभाव फुटबल क्लब, रुपन्देहीबीच हुनेछ । यो खेल तेस्रो क्वाटरफाइनलका रुपमा सोमबार हुने भनिए तापनि प्रतिकुल मौसमका बीच सारिएको थियो ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।

 

Post Comments