ANFA जहादा भेट्रान्स बन्यो च्याम्पियन
गोलनेपाल

जहादा । दोस्रो अन्तर्राष्ट्रिय जहादा भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जहादा भेट्रान्सले जितेको छ। आज सम्पन्न फाइनल खेलमा दमक भेट्रान्सलाई ५–० गोलअन्तरले पराजित गर्दै जहादा च्याम्पियन बनेको हो।

घरेलु मैदान र दर्शकको साथ पाएको जहादाले फाइनलमा एकतर्फी जित निकाल्दै उपाधि उचाल्न सफल भयो। विशेषगरी पहिलो हाफमा दमकका गोलरक्षकले रातो कार्ड पाएपछि खेलले नाटकीय मोड लिएको थियो।

वान भर्सेस वानको अवस्थामा दमकका गोलरक्षकले पेनाल्टी क्षेत्रबाहिर हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए। त्यसपछि दमक १० खेलाडीमा सीमित बन्यो भने गोलरक्षकको अभावमा एक खेलाडीले गोलपोस्ट सम्हाल्नुपरेको थियो।

प्राप्त फ्रिकिकको अवसरमा डेनिम राईले गोल गर्दै जहादालाई १–० को अग्रता दिलाए। त्यसलगत्तै दमकका खेलाडीबाट आत्मघाती गोल भएपछि जहादाको अग्रता २–० मा पुग्यो। पहिलो हाफको अन्त्यतिर जागेश्वर चौधरीले गोल थपेपछि जहादाले ३–० को अग्रतासहित पहिलो हाफ समाप्त गर्‍यो।

दोस्रो हाफमा पनि जहादाले आक्रामक खेललाई निरन्तरता दियो। जागेश्वर चौधरीले थप दुई गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेपछि जहादाले ५–० को शानदार जित निकाल्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

प्रतियोगिताभरि २० गोल गरेको जहादाले जम्मा एक गोल मात्रै खाएको थियो। उत्कृष्ट आक्रमण र बलियो रक्षापंक्तिको प्रदर्शन गर्दै जहादा प्रतियोगिताकै उत्कृष्ट टोली बन्न सफल भयो।

व्यक्तिगत विधातर्फका पुरस्कार

उत्कृष्ट गोलकिपर: शिवजी बस्नेत (जहादा)

उत्कृष्ट डिफेन्डर: सरोज बस्नेत

उत्कृष्ट मिडफिल्डर: कमल खवास

उत्कृष्ट फरवार्ड: दीपेन गिरी (दमक)

हाइस्कोरर: जागेश्वर चौधरी (१० गोल)

प्लेयर अफ द म्याच: निरु लिम्बू (जहादा)

प्लेयर अफ द टुर्नामेन्ट: डेनिम राई

उत्कृष्ट प्रशिक्षक: नवीन गुरुङ

Post Comments