चापाकोटमा आठौँ कालीगण्डकी गोल्डकपको भव्य उद्घाटन, बौद्ध शान्ति र गोर्खा एफसी सेमिफाइनलमा
गोलनेपाल

स्याङ्जा । स्याङ्जाको चापाकोटमा आठौँ कालीगण्डकी गोल्डकप २०८३ को भव्य उद्घाटन भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलबाट बौद्ध शान्ति क्लब, पोखरा र हिल्ली फिल्डर्स गोर्खा एफसी सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो खेलमा बौद्ध शान्तिले मर्दिखोला युनाइटेड क्लब, पर्वतलाई ४–० गोलले पराजित गर्दा दोस्रो खेलमा गोर्खा एफसीले स्याङ्जा युथ क्लबलाई सडन डेथमा ६–५ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पहिलो खेलमा बौद्ध शान्ति क्लबले प्रभावशाली प्रदर्शन गरेको थियो। सुशान गुरुङले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने आशिष गुरुङले ३४औँ मिनेटमा गोल थपेपछि पहिलो हाफमा बौद्ध शान्ति २–० ले अघि रह्यो। दोस्रो हाफमा सुशानले ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने आशिषले ५३औँ मिनेटमा अर्को गोल थपे। निर्धारित समयको खेल ४–० ले आफ्नो पक्षमा पारेको बौद्ध शान्तिका सुशान गुरुङ प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा हिल्ली फिल्डर्स गोर्खा एफसी र स्याङ्जा युथ क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेलको छैटौँ मिनेटमा शुभम श्रेष्ठको पासमा निखिल बस्न्यातले गोल गर्दै गोर्खा एफसीलाई अग्रता दिलाए। दोस्रो हाफको ३७औँ मिनेटमा नीराजन मगरले स्याङ्जा युथ क्लबका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै टोलीले ४–४ गोल गरेपछि सडन डेथमा गोर्खा एफसीले ६–५ को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो। दोस्रो खेलका प्लेयर अफ द म्याच शुभम् श्रेष्ठ घोषित भए।

सोमबार पहिलो खेल दिउँसो १२:३० बजे आयोजक द राइजिङ ग्रुप, चापाकोट, स्याङ्जा र होराइजन क्लब, वालिङ, स्याङ्जाबीच हुनेछ। दोस्रो खेल दिउँसो २:३० बजे ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पा र भदौरे क्लब, अन्नपूर्ण, कास्कीबीच प्रतिस्पर्धा हुनेछ।

द राइजिङ ग्रुप, चापाकोट, स्याङ्जाको आयोजनामा कात्तिक १५ गतेदेखि गंगालाल माध्यमिक विद्यालय खेलमैदान, सुन्तलीटार, चापाकोटमा सुरु भएको प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्। विजेताले नगद रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु. ५ हजार प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य माननीय महेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन समारोहको अध्यक्षता आयोजक द राइजिङ ग्रुप, चापाकोटका अध्यक्ष लालबहादुर घर्तीले गरेका थिए।

Post Comments