काठमाडौं । नेपाल टेबल फुसबल संघ (Nepal Table Foosball Association) ले हालैको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका विद्यालयहरूमा तीन वटा फुसबल टेबल हस्तान्तरण गरेको छ। विपद्पछि मानसिक आघात भोगिरहेका बालबालिकालाई खेलमार्फत मानसिक रूपमा पुनर्स्थापित हुन सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको संघले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माध्यमिक विद्यालय लाई एक वटा फुसबल टेबल प्रदान गरिएको छ। यस विद्यालयसँग जोडिएको पीडा अत्यन्तै मार्मिक छ। विद्यालय आउने क्रममा ७१ जना बालबालिकाले ज्यान गुमाएका थिए भने आफ्ना अभिभावक गुमाएका करिब १५० जना बालबालिका हाल विद्यालयको छात्रावासमा आश्रित छन्।
टेबल हस्तान्तरणपछि बालबालिकाहरूले पहिलो पटक खेलमा रमाउँदै हाँसेको र खुसी साटासाट गरेको दृश्यले खेल मनोरञ्जन मात्र नभई मानसिक उपचारको प्रभावकारी माध्यम पनि हुनसक्ने विश्वास थप बलियो भएको संघले जनाएको छ। मानसिक आघात (Trauma) र पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) बाट गुज्रिरहेका बालबालिकाका लागि फुसबलले सुरक्षित, सकारात्मक र सामाजिक वातावरण सिर्जना गर्दै उनीहरूको आत्मविश्वास र आशा पुनर्जागृत गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, दुई वटा फुसबल टेबल नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय लाई प्रदान गरिएको छ। केही महिनाअघि आएको विनाशकारी फ्ल्यास फ्लडले विद्यालय भवन पूर्ण रूपमा बगाएको थियो। बाढी आउनुभन्दा केही मिनेटअघि मात्रै १,६०० भन्दा बढी विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो। यद्यपि, यस विद्यालयका धेरै विद्यार्थीहरूले आफ्ना अभिभावक तथा नजिकका आफन्त गुमाएका छन्। यी टेबलहरूले बालबालिकाबीच मित्रता, सहकार्य, हाँसो र सकारात्मक ऊर्जा पुनः स्थापित गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।
यस मानवीय अभियानलाई सफल बनाउन अन्तर्राष्ट्रिय टेबल फुटबल समुदायको महत्वपूर्ण साथ रहेको संघले जनाएको छ। United States Table Soccer Organization (USTSO) का अध्यक्ष जिम प्रोभोस्ट (Jim Provost) ले सञ्चालन गर्नुभएको सहयोग संकलन अभियान तथा जापानमा आयोजित Tokai Open प्रतियोगिताका क्रममा Japan Table Soccer Federation (JTSF) का अध्यक्ष जो उनो (Joe Uno) को नेतृत्वमा संकलन गरिएको सहयोगले यस अभियानलाई सम्भव बनाएको हो। संघले उनीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी, काठमाडौंको द एक्सेल्सियर स्कुल, स्वयम्भू ले काठमाडौंदेखि नुवाकोट र रसुवासम्म फुसबल टेबल सुरक्षित रूपमा ढुवानी गर्न तथा सम्पूर्ण स्थलगत व्यवस्थापनमा सहकार्य गरेकोमा नेपाल टेबल फुटबल संघले विशेष आभार व्यक्त गरेको छ। साथै स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको आत्मीय स्वागत र सहयोगप्रति पनि संघले कृतज्ञता प्रकट गरेको छ।
नेपाल टेबल फुटबल संघका अनुसार, विपद्पछिको पुनर्निर्माण केवल विद्यालय र भौतिक संरचना निर्माणमा सीमित हुँदैन। बालबालिकाको मनोबल, आशा र आत्मविश्वास पुनर्जीवित गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। "एउटा मुस्कान, एउटा खेल र एउटा बालबालिकाको खुसीबाट पनि पुनर्स्थापनाको यात्रा सुरु हुन सक्छ" भन्ने विश्वासका साथ संघले आगामी दिनमा पनि खेलमार्फत बालबालिकाको मानसिक स्वास्थ्य र सामाजिक पुनर्स्थापनाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।