ANFA शेर्पा अन्तिम चारमा प्रवेश
गोलनेपाल

सिमरा । हिमालयन शेर्पा क्लब जारी १३औं जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा सातदोबाटो युथ क्लबलाई २–१ ले हराउँदै शेर्पा अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

सिमरा रंगशालामा भएको खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सातदोबाटोले हारको सामना गर्न बाध्य बन्यो । खेलको ३५औं मिनटमा सुदिप गुरुङको गोलबाट सातदोबाटोले खेलमा अग्रता लिएको थियो । यद्यपि पहिलो हाफ कै अतिरिक्त समयमा सुशिल राईले शेर्पाका लागि बराबरी गोल फर्काएका थिए ।

यद्यपि खेलको अन्तिमतिर ८८औं मिनटमा अबायोमी फाकुन्लेले शेर्पाका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । शेर्पाले सेमिफाइनलमा अब चैत १५ गतेका दिन मकवानपुर–११ सँग भिड्ने छ ।

प्रतियोगिता अन्तरगत चैत १४ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड क्लबबीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत १८ गतेका दिन हुनेछ ।

Post Comments