ANFA धिरेन्द्रको प्रविन्ध फुकुवा, मैदान फर्किए लगतै गोल
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बी डिभिजन लिग खेलिरहेको सरस्वती युथ क्लबका उदाउँदा फरवार्ड धिरेन्द्र बहादुर शाहमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।

एन्फाले सरस्वती क्लबलाई आधिकारिक रुपमा पत्र पठाएर धिरेन्द्रमाथिको प्रतिवन्ध फुकुवा गरेको बताएको हो । साथै सरस्वतीको कटौती गरिएको तीन अंक पनि फिर्ता गरेको एन्फाले पत्रमा उल्लेख गरेको छ ।

यस्तो थियो धिरेन्द्रमाथिको प्रतिवन्धको कारण

बी डिभिजन लिगतर्फ गत चैत्र पहिलो साता नयाँवस्ती युथ क्लबले सरस्वती विरुद्ध खेल्ने क्रममा धिरेन्द्र विरुद्ध उजुरी गरेको थियो । उक्त उजुरीमाथि छानबिन गर्दा धिरेन्द्रले विभिन्न मितिमा सरस्वती र टुसाल युथ क्लबसँग बी डिभिजन लिग खेल्ने सम्झौता भएको एन्फाले जनाएको थियो ।

धिरेन्द्रले वि.सं. २०७९ मा बी डिभिजन लिग खेल्ने टुसालसँग सम्झौता गरेका थिए । यद्यपि त्यतिबेला लिग निर्धारित समयमा नभएपछि उनले हाल सरस्वतीका लागि लिग खेल्ने सम्झौता गरेका थिए ।

जारी बी डिभिजन लिगको शुरुवाती दुई खेल खेल्दा धिरेन्द्रले दुवै खेलमा गोल समेत गरेका थिए । यद्यपि त्यसपछि भने एन्फाले धिरेन्द्रलाई लिग खेल्न रोक लगाएको थियो । जारी लिगमा धिरेन्द्र आठ खेलहरु गुमाईसकेका छन् । प्रतिवन्ध फुकुवा लगतै उनले बाँकी खेलहरु भने खेल्ने तय भएको छ ।

प्रतिवन्ध फुकुवा लगतै धिरेन्द्रको गोल

त्यस्तै एन्फाले प्रतिवन्ध फुकुवा गरेको जानकारी गराएकै दिन मंगलबार धिरेन्द्रले बी डिभिजन लिगमा सरस्वतीका लागि खेले र गोल समेत गर्न भ्याए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका धिरेन्द्रले बिरगंज युनाइटेड विरुद्ध ७२औं मिनटमा अन्तिम गोल गरे ।

सो खेलमा सरस्वतीले बिरगंजमाथि ३–० को जित निकाल्यो । सरस्वतीका लागि थप दुई गोल भने ज्ञानेन्द्र जोशी र नरेश कुमार खत्रीले गरे । यो जितपछि ११ खेलबाट १५ अंक जोडेको सरस्वती लिगतालिकाको आठौं स्थानमा समेत उक्लिएको छ । पराजित बिरगंज भने १६ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments