ANFA सी डिभिजन खेलिरहेका नौ क्लबको एन्फा अध्यक्षलाई गम्भीर ध्यानाकर्षण पत्र
गोलनेपाल

सहिद स्मारक सी डिभिजन क्लब खेलिरहेका नौं वटा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र दिएका छन्।

लिगमा आबद्ध आरसी ३२ ले खालीबारी युवा क्लब तथा महावीर क्लबविरूद्धको खेलमा अर्कै क्लबमा आबद्ध खेलाडी निमयविपरित खेलाएको र बी डिभिजन लिगको मिति घोषणा नभए सी डिभिज लिग नै स्थगित गर्नु पर्ने अवस्था आउने भन्दै भन्दै अध्यक्षलाई ध्यानाकर्षण गराएका हुन्।

ध्यानाकर्षण गराउनेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, गोलबजार स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्रका रहेका छन्।

एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम भएको क्लबहरुले स्मरण गराएका छन्। तर आरसी ३२ ले बी डिभिजन क्लब झापा एघार फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको समेत माग गरेका छन्।

चैत २२ गते खालीबारीविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी आएको क्लबहरुको भनाइ छ। तर अटेर गरी आरसी ३२ ले वैशाख ४ मा महावीर क्लबसँगको खेलमा मगरलाई टिममा राखेकोमा पनि क्लबहरुले नियमबमोजिम कारबाहीको माग गरेका छन्।

मगरले वैशाख ४ मा झापा क्लबबाट रिलिज पत्र ल्याए पनि खेलाडी दर्ता ४८ घन्टाअघि नै हुनु पर्ने फिफाको नियम भएको पनि क्लबहरुको भनाइ छ। साथै क्लबहरुले गत चैत २५ गते हुने भनिएको बी डिभिजन लिग अहिलेसम्म नभएको पनि आपत्ति जनाएका छन्। बी डिभिजन सञ्चालनको मिति सी डिभिजन लिगको सातौं चरणको समाप्तीसम्म घोषणा गर्न उनीहरुले माग गरेका छन्।

बी डिभिजन लिग घोषणा नभए सी डिभिजन लिग बीचैमा स्थगित हुन सक्नेमा पनि उनीहरुले सचेत गराएका छन्। क्लबहरुले सी डिभिजन लिगमा निर्णायकको विवादित निर्णयलाई छानविन दायरामा ल्याउन पनि माग गर्दै सक्षम निर्णायकबाट खेल सञ्चालन गर्न अनुरोध गरेका छन्।

Post Comments