ANFA एपिएफ र बिर्तामोड सेमिफाइनलमा
गोलनेपाल

धनकुटा । एपिएफ फुटबल क्लब, काठमाडौं र बिर्तामोड युनाइटेड, झापा यहाँ जारी १६औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपिएफले फोर स्टार युथ क्लब, मोरङलाई शून्यका विरुद्ध १ गोलले हरायो । यी दुई टोली बीचको खेल आइतबार नै उद्घाटन खेलका रुपमा भए तापनि प्रतिकुल मौसमका कारण स्थगित भएको खेल सोमबार खेलाइएको थियो ।

स्थगित भएकै समयबाट खेलाइएको खेलमा एपिएफ खेलमा फोर स्टार विरुद्ध १–० ले अगाडी थियो । सोही नतिजा खेलको अन्तिम नतिजा बन्यो । खेलमा एक मात्र निर्णायक गोल गरेका एपिएफका सुमन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोमबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोडले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई समान १–० अन्तरले हरायो । बिर्तामोडका लागि निरज कार्कीले एक मात्र गोल गरे । खेलमा बिर्तामोड कै एन्जल गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख २५ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल बुटवल लुम्बिनी फुटबल क्लब, बुटवल र राष्ट्रिय जागृति क्लब, इटहरी बीच हुने आयोजकले जानकारी दियो ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments