ANFA आयोजक श्री युवा जनहितलाई चौथो भजहर कपको उपाधि
गोलनेपाल

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भएको चौथो भजहर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक श्री युवा जनहित क्लबले जितेको छ ।

लोहरपुर खेल मैदानमा भएको फाईनल खेलमा राईजिङ स्टार युवा क्लब, उदासीपुरलाई हराउँदै आयोजक श्री जनहितले उपाधि चुमेको हो । रोमाञ्चक फाईनलमा आयोजक श्री जनहितले राईजिङ स्टारमाथि २–१ को जित निकाल्यो ।

विजेता बनेसँगै आयोजक श्री जनहित युवा क्लबले नगद एक लाख सहित ट्रफी प्राप्त गर्न सफल भयो । उपविजेता राईजिङ स्टारले नगद ५० हजार सहित ट्रफी प्राप्त गरेको छ ।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको चौथो संस्करणको उत्कृष्ट खेलाडी आयोजक टीमका विजय सिंह ठकुरी भए । उत्कृष्ट गोलरक्षक आयोजकै जियारत सेख भए । हिमालयन युवा क्लबका फागुराम थारु सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दुई हजार नगद सहित ट्रफी पाए ।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भएको प्रतियोगितामा पौराणिक खेल पनि आयोजना गरिएको थियो । जसमा पौराणिक खेल देगुवा दौडमा खुशीराम चौधरी प्रथम भएका छन् ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

Post Comments