ANFA आयोजक भिमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा
गोलनेपाल

धनकुटा । आयोजक भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटा यहाँ जारी १६औं शहिद भिमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको चौथो क्वाटरफाइनलमा आयोजकले सलहेश युवा क्लब, सिराहालाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

टुडिखेल मैदानमा भएको खेलमा भिमनारायण स्मृति प्रतिष्ठानका लागि खमिर गिल्सन कान्दङवाले एक मात्र निर्णायक गोल गरे । खेलमा सलहेशले पनि गोलको अवसर पाएको थियो । फागुराम थारुको पेनाल्टी प्रहार आयोजकका गोलरक्षक प्रदिप भण्डारीले जोगाउँदा पाहुना टोली चुकचुकाउनु परेको थियो ।

खेलमा घरेलु टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका भिमनारायण स्मृति प्रतिष्ठानका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हातपारे ।

प्रतियोगिता अन्तर्गत बैशाख २७ गते बिहीबारको पहिलो सेमिफाइनल खेल एपिएफ फुटबल क्लब, काठमाडौ. र राष्ट्रिय जागृति क्लब, इटहरी बीच हुने आयोजकले जानकारी दियो ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments