Gorkhalis Abroad आई लिगमा अन्जनको टोली केन्क्रेको संघर्ष जारी
गोलनेपाल

काठमाडौं । यसै सिजनका लागि पहिलोपटक आई लिग खेलिरहेका नेपालका स्टार फरवार्ड अन्जन बिष्टको टोली केन्क्रे एफसीले लिगमा मिश्रित प्रदर्शनलाई निरन्तरता दिएको छ । गत साता मात्र राउण्डग्लास पञ्जाब एफसीसँग ३–३ गोलको बराबरी खेलेको केन्क्रेले बुधबार नेरोकासँग पराजित हुन पुग्यो ।

केन्क्रेको यो सिजनको आठौं हार समेत थियो । मणिपुरको इम्फाल स्थित नेरोकाको घरेलु मैदान खुमान लम्पक मेन स्टेडियममा भएको खेलमा केन्क्रेले घरेलु टोलीसँग १–० को हार बेहोर्यो । खेलको ६०औं मिनटमा जुर्डैन फ्लेचरले गरेको एक मात्र गोल नेरोकालाई ३ अंक दिलाउन प्रर्याप्त बन्यो ।

खेलको ७८औं मिनटमा थोक्चोम जोन्सन सिंहले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली खेलको अन्तिमतिर दश खेलाडीमा खुम्चिएको थियो । यद्यपि केन्क्रेले त्यसको फाईदा भने उठाउन सकेन ।

यो नतिजापछि १६ खेलबाट १४ अंक मात्र जोडेको केन्क्रे लिगतालिकाको ११औं स्थानमा छ र रेलिगेशन क्षेत्रमा संघर्षरत छ । उता जित हात पारेको नेरोका भने २० अंकका साथ आठौं स्थानमा छ । केन्क्रेले आफ्नो आगामी खेल आउँदो सोमबार सुदेवा दिल्लीसँग खेल्ने कार्यक्रम छ ।

Post Comments