योङ ब्वाईज कपः हाउडे ब्वाईज, सैनामैना र थारु ब्वाईज दोस्रो चरणमा प्रवेश
सुरज राना मगर

शिवपुर । हाउडे ब्वाईज क्लब, सैनामैना युथ क्लब र थारु ब्वाईज फुटबल क्लब रुपन्देहीको तिलोत्तमा नगरमा जारी योङ ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–११ स्थित शिवपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा हाउडे ब्वाईजले डिफ एफसीलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा हाउडे ब्वाईज २–० ले विजयी बन्यो ।

दोस्रो खेलमा सैनामैनाले बृन्दावन फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । त्यस्तै तेस्रो खेलमा थारु ब्वाईजले आयोजक शिवपुर फुटबल क्लब (बी) लाई ३–१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

योङ ब्वाईज क्लब र शिवपुर फुटबल क्लब, तिलोत्तमा, रुपन्देहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने असार २३ गतेका दिन हुनेछ ।

Post Comments