गैँडाकोट, नवलपुर । गैँडाकोट फुटबल क्लबका अध्यक्ष तथा अभियानका संयोजक सुदन पराजुलीको नेतृत्वमा खेलप्रेमी युवाहरू, स्थानीय खेलकुद क्लब, खेलकुद संघ–संस्था तथा भूतपूर्व खेलाडीहरूले गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धमनाथ सापकोटासमक्ष खेलकुद क्षेत्रको समग्र विकास, व्यवस्थापन, पारदर्शिता तथा दीर्घकालीन योजनाको आवश्यकताबारे पाँच बुँदे सामूहिक ध्यानाकर्षण पत्र बुझाएका छन्।
नगरभित्र प्रशस्त खेल प्रतिभा र सम्भावना हुँदाहुँदै पनि खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनीहरूले खेलकुद विकासका विविध पक्षमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। प्रस्तुत ध्यानाकर्षण पत्रमा खेलकुदका लागि विनियोजन हुने बजेटको समयमै सदुपयोग, योजनाबद्ध कार्यक्रम सञ्चालन तथा पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरिएको छ।
त्यसैगरी नगर खेलकुद विकास समितिलाई थप सक्रिय, जिम्मेवार र प्रभावकारी बनाउँदै खेलकुद गतिविधिलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। नगरभित्र रहेका खेलाडी, प्रशिक्षक, क्लब तथा खेलप्रेमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै टोल तथा वडा स्तरसम्म खेलकुद संरचना विस्तार गर्नुपर्ने मागसमेत राखिएको छ।
ध्यानाकर्षण पत्रमा खेल पूर्वाधारको संरक्षण, स्तरोन्नति र प्रभावकारी सञ्चालनलाई विशेष प्राथमिकता दिइएको छ। पुराना खेल मैदान, कभर्ड हल तथा अन्य खेल संरचनाको संरक्षण र व्यवस्थापन गर्दै प्रत्येक वडामा व्यवस्थित खेल मैदान निर्माण तथा खेल गतिविधिलाई नियमित र प्रभावकारी बनाउन आवश्यक योजना अघि बढाउन आग्रह गरिएको छ।
यस्तै, खेलाडी उत्पादन, ग्रासरुट विकास, प्रतिभा पहिचान, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा दीर्घकालीन खेलकुद विकास योजनाको निर्माणमा विशेष ध्यान दिनुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ। खेलकुद क्षेत्रको समग्र विकासका लागि नगरपालिकासहित सम्बन्धित निकायहरूको सक्रिय समन्वय, नियमित अनुगमन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको खेलकर्मीहरूको धारणा छ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा