ANFA प्रथम बाउन्नकोटी कप शुरु, तिलोत्तमा–१३ को विजयी शुरुवात
सुरज राना मगर

सुपौली । बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह, चिल्हिया, रुपन्देहीको आयोजनामा आइतबारदेखि शुरु प्रथम बाउन्नकोटी कप अन्तरपालिका वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा तिलोत्तमा–१३ ले विजयी शुरुवात गरेको छ ।

बाउन्नकोटी खेलमैदानमा भएको उद्घाटन खेलमा तिलोत्तमा–१३ ले ओमसतिया–१ लाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ तिलोत्तमा–१३ का लागि दुवै गोल आत्मघाती गोलका रुपमा उपहार बन्यो । ओसतियाका असिम गुरुङ र पासाङ गुरुङले आत्मघाती गोल गरे । ओमसतियाका लागि भने दुवै गोल संगम सोमरेले गरेका थिए ।

टाईब्रेकरमा भने तिलोत्तमा–१३ ले ओमसतिया–१ माथि ४–२ को जित निकाल्न सफल भयो । यो जितसँगै तिलोत्तमा–१३ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १७ गते सोमबारको क्वाटरफाइनल खेल तिलोत्तमा–१५ र १६ बीच हुने खेल संयोजक झविलाल थापाले जानकारी दिए ।

यही बैशाख २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष लिल बहादुर क्षेत्रीले जानकारी दिए ।

Post Comments