ANFA दोस्रो गोदावरी मेयर कपमा गोदावरीको उत्कृष्ट शुरुवात
गोलनेपाल

ललितपुर । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिका विजयी भएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा वडा नम्बर १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६ –१ को गोल अन्तरमा हराउँदै विजयी सुरुवात गरेको हो ।

गोदावरीको जितमा खेलको म्यान अफ दि म्याच भएका अरुण लामाले ४ गोल गरे । उनले पहिलो हाफ र दोस्रो हाफ दुबैमा २ मिनेटको अन्तरमै २–२ गोल गर्न सफल भएका थिए । अर्को एक गोल पासाङ लामाले गर्दा थप एक गोल सान्त्वना उपहार पायो ।

खेलको अन्तिम समयमा आएर महालक्ष्मीले सान्त्वना गोल फर्कायो । रोनेश राउतले एक गोल फर्काएपनि पहिलो संस्करणको इतिहास दोहो¥याउन महालक्ष्मी असफल भयो । पहिलो संस्करणमा गोदावरी महालक्ष्मीसँग पराजित भएको थियो ।

शनिबारको जितसँगै समूह ए बाट गोदावरी नगरपालिकाले ३ अंक बटुलेको छ भने महालक्ष्मीको १ खेलबाट कुनै अक छैन । जितले सेमिफाइनलका लागि बाटो सहज बनेको छ भने हारले कठिन बनेको छ । यद्यपी पहिलो खेल हारेको टोलीको पनि संभावनाको ढोका भने उत्तिकै छ ।

यो समूहमा रहेका ललितपुर महानगरपालिका र बाग्मती गाउँपालिका आइतबार आमने–सामने हुँदैछन् । शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेको गोदावरी मेयर कप फुटबल आगामी जेठ ३ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा उपत्यकाभित्रका मा १३ वटा पालिकाको सहभागिता रहेको छ । सहभागी भएका १३ वटा पालिकाका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता संचलन भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए । ४ वटा समूहका समूहविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्ने छन् । यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका छन् । यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।

 

 

Post Comments