ANFA देवदह ब्वाईजलाई तेस्रो गैडहवा अध्यक्ष कपको उपाधि
सुरज राना मगर

देवीनगर । उत्कृष्ट जितका साथ रुपन्देहीमा सम्पन्न तेस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह ब्वाईज, देवदहले जितेको छ ।

फाइनलमा देवदहले फर्साटिकर युवा क्लब, फर्साटिकरमाथि ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । गैडहवा–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको खेलमा देवदहका लागि सुरज चौधरीले दुई गोल गरे भने प्रदिप थापा मगर र मिलन आलेले थप एक–एक गोल गरे । उता पराजित फर्साटिकरका लागि अवतार थापा र मिलन आलेले गोल गरेका थिए ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवा, रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका, विष्णपुरा, रुपन्देहीको संरक्षकत्वमा सम्पन्न प्रतियोगिताको विजेता बनेको देवदहले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले १,०५,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गैडहवा गाउँपालिका, विष्णपुरा, रुपन्देहीका अध्यक्ष सुरेन्द्र पौड्याल, आयोजक न्यु एभरेष्ट युवा क्लबका अध्यक्ष पदम बहादुर थापा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments