ANFA
गोदावरी मेयर कपको सेमिफाइनल मंगलबारदेखि

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइलका खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका भिड्दै छन् ।
खेल गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार दिउँसो साढे ३ बजे सुरु हुनेछ । काठमाडौं समूह बि को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डि को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंले समूहचरणमा चाँगुनारायण र मध्यपुर ठिमी नगरपालिकालाई हराएको छ । २ खेलबाट काठमाडौंले ६ अंक जोड्दा मध्यपुर र चाँगुले १–१ अंक जोडेका छन् । कीर्तिपुरले समूहचरणमा तारकेश्वरसँग २–२ गोलको बराबरी तथा कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को जित निकालेको छ । कीर्तिपुरले ४ अंक बनाउँदा तारेकेश्वरले २ अंक तथा कोन्ज्योसोमले १ अंक जोडेको छ ।
आयोजक गोदावरी र दक्षिणकाली भिड्ने गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ । समूह ए मा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले समूह चरणमा ललितपुर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह सि मा रहेको दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो । गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहनेछ ।
काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेलेका छन् । यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका छन् । यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागीता जनाएका छन् ।
अघिल्लो पटक सहभागी भएका काठमाडौंका नागार्जुन नगरपालिका , टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका यसपटक सहभागी छैनन् भने चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलो पल्ट सहभागिता जनाएका छन् । अघिल्लो संस्करणमा पनि सहभागी नभएका शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र महांकाल गाउँपालिकाले यसपटक पनि भाग लिएनन् । यस्तै भक्तपुरका भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका पनि सहभागी भएनन् ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ । नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए ।
“गोदावरीको वडा हुँदै नगर तथा जिल्लाका साथै प्रदेश एवं राष्ट्र मात्रै नभएर अन्तरर्राष्ट्रिय जगतमा समेत नेपाललाई चिनाउने युवा खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ ,” उनले भने , अघिल्लो संस्करण पनि हामीले सफलता पूर्वक सम्पन्न गरिसकेका छौँ । मेयर महर्जनले प्रतियोगिताले नवनिर्मित गोदावरीको खेल मैदानलाई अझ विस्तार र स्तरउन्नती गर्न थप बल पुग्ने विश्वास ब्यक्त गरे ।
उनले भने, “गोदावरीमा खेल पर्यटनको पनि संभावना छ र त्यसको विकासका निम्ती यो प्रतियोगिता कोशेढुङ्गा हुनसक्छ । ” मेयर मर्हजनले वन कार्यालयबाट ३ दशमलब ५ हेक्टरको बनको जग्गा रंगशालाको भोगाधिकारका लागी प्राप्त भएको बताए । उनका अनुसार नगरपालिकाको गौरबको योजना अन्र्तगत रहेको १५ हजार क्षमताको मिनी रंगशालाका लागि २ अरब खर्च लाग्ने अनुमान गरिएको छ ।
यसलाई प्रदेश र सघको बहुवर्षे योजनामा समावेश गरि निर्माण कार्य अघि बढ्ने बताए । उपत्यका भित्रका खेलाडीको फुटबलप्रतिको मोह बढाउने र यहाँ नयाँ खेलाडी जन्माउने तथा फुटबलप्रतिको मोह बढाउने काम गोदावरी मेयर कपले गरेको प्रतियोगिता संयोजक निरोज बज्राचार्यले बताए । उनका अनुसार उपत्यकामा मात्र नभएर गोदावरी मेयर कपको चर्चा देशभर रहेको बताए ।
Post Comments