भैरहवा । “सहयोग गर्न भव्यता चाहिंदैन, भावना चाहिन्छ” गत महिना रुपन्देहीमा सम्पन्न मायादेवी कप खुला सिक्स ए साईड फुटबल प्रतियोगिता आयोजना गरेर प्रतियोगिता संयोजक गौतम शाही ठकुरीले यही कुरालाई यथार्थलाई परिणत गर्न सफल भएका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित बसडिलवामा गत महिना प्रथम मायादेवी कप खुला सिक्स ए साईठ फुटबल प्रतियोगिताको आयोजना सफलताका साथ सम्पन्न भयो । प्रथम पुरस्कार २० हजार र दोस्रो पुरस्कार १० हजार गरी कुल पुरस्कार राशी ३० हजार रहेको प्रतियोगिताबाट केही रकम बचत पनि भयो ।
प्रतियोगिता शुरु हुनु अघि नै पत्रकार सम्मेलन गरी आयोजक मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाका टिम व्यवस्थापक तथा कार्यक्रम संयोजक गौतम शाही ठकुरीले प्रतियोगिता सम्पन्न भएपछि बचत भएको केही रकम सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गरेका थिए ।
प्रतियोगिताभरि लगभग एक्लैले व्यवस्थापन गरेका संयोजक शाही ठकुरीले घोषणा गरेअनुसार नै बचत भएको केही रकम मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई सहयोग गरेका छन् । उनले बचत भएको रकमबाट करिब १५ हजार बराबरको खाद्यान्न सामाग्रीहरु बाल गृहकी सञ्चालक कृष्ण माया गुरुङलाई हस्तानतरण गर्दै सहयोग गरेका हुन् ।
फुटबल खेल स्वस्थ प्रतिस्पर्धा र मनोरञ्जनका लागि मात्र नभई समाजप्रति एउटा जागरुक युवाको हैसियतले गर्नुपर्ने जिम्मेवारी पनि रहेको मायादेवी कपका कार्यक्रम संयोजक गौतम शाही ठकुरीले बताए । साथै उनले आउने दिनहरुमा पनि आफू संलग्न हुने हरेक खेलकुद गतिविधीहरुबाट समाजलाई गर्नुपर्ने यस्तै सहयोगी कार्यलाई निरुन्तरता दिने समेत बताए ।