News रुपन्देहीमा दोस्रो गौतम बुद्ध कप शुरु
सुरज राना मगर

पिपरीचापा । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरीचापाको आयोजनामा हरितालीका (तीज) को अवसर पारी शनिबारदेखि दोस्रो गौतम बुछ कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

कञ्चन–५, पिपरीचापा स्थित आयोजक संस्था कै खेलमैदानमा भएको उद्घाटन खेलमा न्यु सृजनशील युवा क्लबले न्यु बुद्ध युवा क्लब २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा न्यु सिर्जनशीलका लागि दुवै गोल आशमान थापा क्षेत्रीले गरे ।

न्यु सृजनशीलको जितमा निर्णायक दुर्ई गोल गरेका आशमान थापा क्षेत्री नै खेलको म्यान अफ दि म्याच चुनिए । यो जितसँगै न्यु सृजनशील क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिका, रुपन्देहीका अध्यक्ष नवराज ढकाल, आयोजक संस्थाका अध्यक्ष कमल दर्जी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिता सम्पन्न गराउन सबैको साथ, सहयोग र हौसलाको अपेक्षा गरिएको आयोजकका अध्यक्ष कमल दर्जीले बताए । उता खेल संयोजश रोशन पुनले उद्घाटन खेलमा दर्शकहरुका लागि प्रवेश निःशुल्क गरिए तापनि आइतबारदेखि टिकट शुल्क लाग्ने उनले बताए ।

आउँदो भदौ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

 

Post Comments