News दोस्रो गौतम बुद्ध कपः सुनगाभा र रेन्बो क्वाटरफाइनलमा
सुरज राना मगर

पिपरीचापा । सुनगाभा सामुदायिक विकास केन्द्र र रेन्बो एकेडेमी रुपन्देहीमा जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको दुई प्रिक्वाटरफाइनलतर्फ दिनको पहिलो खेलमा सुनगाभाले इभोलुशन क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धातिर समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ सुनगाभाका लागि रोशनले दुई गोल गर्दा सुदिप थापाले एक गोल गरेका थिए । उता इभोलुशनका लागि भुवन फौजाले दुई गोल गर्दा थप एक सुन्दिप बिकले गरेका थिए । खेलमा सुनगाभाका करन क्षेत्री म्यान अफ दि म्याच बने ।

दोस्रो खेलमा भने रेन्बो एकेडेमीले मुर्गिया फुटबल क्लबमाथि ९–३ को फराकिलो जित हात पार्यो । रेन्बोका लागि सुरज थारु एक्लैले ६ गोल गर्दा आकाश थापा, अरुन चौधरी र विश्व थापाको नाममा एक–एक गोल रह्यो । त्यस्तै मुर्गियाका लागि अरुन पुन, प्रबिन भारी र बिकास बस्नेतले गोल फर्काएका थिए ।

खेलमा प्रतियोगिता कै पहिलो ह्याट्रिक गर्न सफल रेन्बो एकेडेमीका सुरज थारु म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ २ गतेको पहिलो खेल १ बजे भैसाही युवा क्लब र एमबी ब्रदर्श बीच हुनेछ भने दोस्रो खेल ३ बजे योङ ब्वाईज र चाँदनी युवा क्लबबीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।

Post Comments