News विश्व शान्ति क्वाटरफाइनलमा
सुरज राना मगर

पिपरीचापा । विश्व शान्ति युवा क्लब रुपन्देहीमा जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा विश्व शान्तिले सुनौलो संगम युवा क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

विश्व शान्तिको जितमा विश्वास श्रेष्ठ, रोशन थापा र आशिष रानाले गोल गरे । उता पराजित सुनौलो संगमका लागि भने बिक्की राई र बसन्त थापाले गोल फर्काएका थिए । खेलमा विश्व शान्तिका विश्वास श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत भदौ ५ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल न्यु सृजनशील फुटबल क्लब र रेन्बो फुटबल एकेडेमी बीच हुनेछ भने दोस्रो खेल भैसाही फुटबल क्लब र सुनगाभा सामुदायिक विकास केन्द्र बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।

Post Comments