News आयोजक नव जागृति (सेतो) सेमिफाइनलमा
सुरज राना मगर

बगनाशकाली । आयोजक नव जागृति युवा क्लब (सेतो) पाल्पाको बगनाशकाली गाउँपालिकामा जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ दश खेलाडीमा सिमित बनेको नव जागृतिले मणिमुकुन्द क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

कोठीचौर खेलमैदानमा भएको खेलमा नव जागृतिका लागि खोम गाहा र युवराज थारुले गोल गरे । उता पराजित मणिमुकुन्दका लागि भने निर मगरले गरेका थिए ।

खेलमा एक समय आयोजक नव जागृति दश खेलाडीमा समेत खुम्चियो । आयोजक क्लबका मनोज श्रेष्ठले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि आयोजकले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा आयोजक नव जागृति कै खोम गाहा म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ ५ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल दमकडा ब्रदर्श फुटबल क्लब र पाल्पा फुटबल एकेडेमीबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।

नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।

Post Comments