News नवलपरासीमा प्रथम स्मृति कप शुरु
सुरज राना मगर

सुनवल । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ सुनवल फुटबल क्लब, सुनवल, नवलपरासीको आयोजनामा बिहीबारदेखि प्रथम स्मृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सुनवल–१, नवलपरासी स्थित बनाहा खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेलहरु सम्पन्न भए । जसमा योङ ब्वाईज क्लब, जेनिथ युवा क्लब र योङ युनिटी विजयी बने ।

दिनको पहिलो खेलमा योङ ब्वाईजले सेभेन स्टार इङलिस बोर्डिङ स्कुललाई ७–१ को फराकिलो अन्तरले हरायो । दोस्रो खेलमा जेनिथले दानव फुटबल क्लबलाई २–० ले पराजित गर्दा तेस्रो खेलमा योङ युनिटीले एसबीवाइसीलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेपछि टाईब्रेकरमा योङ युनिटी सफल बनेको हो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रमुख अतिथी दिपेश खत्री, आयोजक क्लबका अध्यक्ष दिपेश सेन ठकुरी, विशिष्ठ अतिथी राजु थापा, कार्यक्रम संयोजक राजेश श्रेष्ठ लगायतले संयुक्त रुपमा गरेका थिए । देव बहादुर क्षेत्रीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा अतिथीहरु चन्द्र बहादुर राना, अमर पुन, काजीमान गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३०,०३० रुपैयाँ हात पार्नेछ भने उपविजेताले २०,०२० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक राजेश श्रेष्ठले जानकारी दिए । कुल २६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने भदौ १४ गतेका दिन हुनेछ ।

 

Post Comments