कोटिहवा । रुपन्देहीमा खेलकुद र सामाजिक कार्यमा समेत आफ्नो फरक पहिचान बनाएको र निरन्तर रचनात्मक कार्यमा समेत सक्रिय लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीको आयोजनामा यही भदौ १४ गतेदेखि शुरु हुने यशोदा फुडस २३औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सोही अवसरमा प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानामा हुने प्रतियोगिताको उद्घाटन खेलमा भदौ १४ गतेका दिन गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र नवलपरासी–११ भिड्ने छन् ।
रुपन्देही, पाल्पा, नवलपरासी, स्याङ्जा र नवलपुरका गरी कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल भदौ २७ गतेका दिन हुनेछ । यशोदा फ्डस प्रा.लि., तिलोत्तमा–१५, रुपन्देही मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक पदम बहादुर थापा (अशोक) ले जानकारी दिए ।
त्यसैगरी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को कार्यालय सह–प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही २५–२५ हजार नगद प्रदान गरिने आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले बताए । त्यसबाहेक व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
सोही अवसरमा आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले प्रतियोगिता अवधिभर १ लाखको दुर्घट्ना बिमा गरिएको पनि जानकारी दिए । प्रतियोगिताको २३औं संस्करणलाई भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै यसमासबैको साथ, सहयोगको अपेक्षा गरिएको समेत बताए ।
त्यस्तै दर्शकहरुको लागि टिकटदर क्वाटरफाइनलसम्म १०० र सेमिफाइनलदेखि फाइनलसम्म २०० रुपैयाँ तोकिएको पनि आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न २९ लाख २१ हजार ६६६ रुपैयाँ खर्च हुने अनुमान गरिएको पनि आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले बताए ।
सो अवसरमा मुख्य प्रायोजक यशोदा फुडस प्रा.लि. का प्रबन्धक मधुसुदन घिमिरे, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङ (मुन्ना), पञ्चकन्या समूहका प्रबन्ध देवेन्द्र साहु, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
खेलतालिका पनि हेर्नुहोस ।
