News रेन्बोलाई फाइनल पुर्याउन निर बने निर्णायक
सुरज राना मगर

पिपरीचापा । रेन्बो एकेडेमी, कञ्चन रुपन्देहीमा जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा रेन्बोले योङ ब्वाईज क्लबलाई १–० को झिनो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । कञ्चन गाउँपालिका–५, पिपरीचापा स्थित गौतम बुद्ध खेलमैदानमा भएको खेलमा रेन्बोका लागि निर मगरले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

रेन्बोका निर्णायक गोलकर्ता निर मगर नै खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ ८ गते आइतबारको दोस्रो सेमिफाइनल खेल सुनगाभा सामुदायिक विकास केन्द्र र विश्व शान्ति युवा क्लबबीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।

 

Post Comments