News पाल्पाः लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको तयारी पुरा
सुरज राना मगर

मटेरी । एलजी एसोशिएसन, रामपुर–५, पाल्पाको आयोजनामा यही असोज १८ गतेदेखि शुरु हुन गईरहेको लालीगुराँस कप राष्ट्रिय यु–१९ सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे आधिकारिक रुपमा जानकारी समेत गराएको छ । रामपुर नगरपालिका–५, मटेरी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा पाल्पा, रुपन्देही, कास्की, काठमाडौं, चितवन, मकवानपुरका गरी कुल १८ टोलीहरुले सहभागिता जनाउने खेल संयोजक आदेश रानाले जानकारी दिए । प्रतियोगिताको फाइनल असोज २५ गते हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

साथै प्रतियोगितामा सहभागिता जनाउने जिल्ला बाहिरका टोलीहरुलाई खानबस्नको व्यवस्था आयोजकले नै गर्ने पनि खेल संयोजक आदेश रानाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मधुसुदन पोखरेलले बताए । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही २५–२५ हजार तथा विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

रामपुर नगरपालिका, पाल्पा प्रायोजक रहेको तथा युथ युनियन मटेरी, रामपुर, पाल्पा सह–प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च हुने खेल संयोजक आदेश रानाले जानकारी दिए । आयोजकले प्रतियोगिता सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको समेत बताएको छ ।

 

Post Comments